काठमाण्डौ । कामाण्डौको चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शनिबार प्रादेशिक कार्यालयको स्तरोन्नतिसँगै निर्माण गरिएका नयाँ पूर्वाधारहरुको उद्घाटन गरिएको हो। निगमले रिइन्जिनियरिङ परियोजनाको प्रथम चरणअन्तर्गत कार्यालय स्तरोन्नति, आधुनिक टीएलएफ सेड निर्माण, २०० ट्यांक ट्रक पार्किङ गर्न सकिने पार्किङ यार्ड, फायर फाइटिङ प्रणाली, फ्लोर मिटर र सिभिल वर्कसअन्तर्गत आरसीसी एक्सिस रोड र बाउन्ड्री वाल मन्त्री भट्टले उद्घाटन गरेका थिए।

यो कार्यालयको स्थापना २०५८ सालमा नेपाल आयल नियमको इन्धन डिपोका रुपमा भएको थियो। यो करिब १०६ रोपनीमा फैलिएको छ। डिपोपरिसरमा ८ हजार ४०० किलोलिटर डिजेल, ६ हजार ७० किलोलिटर पेट्रोल र ७६० किलोलिटर मट्टीतेल भण्डारण क्षमताका ट्यांकहरु छन्। 

उद्घाटन कार्यक्रममा उद्योग मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतको उपस्थिति थियो।