काठमाण्डौ । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ। 

कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्। 

कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ। 

इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। 

दरखास्त दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। पारिश्रमिक नेपाल सरकारबाट तोकिएबमोजिम हुनेछ। 

पहिलोपटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल गत पुस २२ गतेबाट सकिएको थियो। उनी २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।