काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १३ महिनाअघि लागू गरेको सवारीसाधन तथा विभिन्न अटोमोबाइल वस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने नेपाल राष्ट्र बैंकले गरेको निर्णयको स्वागत गरेको छ। 

नाडाले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो। ‘सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयको नाडाले हार्दिक स्वागत गर्दछ।’

राष्ट्र बैंकको हालको योे निर्णयले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने नाडाको भनाइ छ। 

‘तथापि नाडाबाट राखिएका अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरिनुपर्नेलगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन हुन सक्दैन’, नाडाले भनेको छ, ‘त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव देशको राजश्वमा परिरहने देखिएकोले उल्लेखित विषयहरुमा पनि सम्बोधन हुदै जादै अपेक्षा हामीले राखेका छौँ । साथसाथै चालु पुंजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधनका लागि नेपाल राष्ट्र बैंकसंग हार्दिक अनुरोध गर्दछौँ।’