काठमाण्डौ । भारतले आन्तरिक बजारको माग अधिक भएको भन्दै प्याजको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएसँगै नेपाली बजार पनि नराम्ररी प्रभावित बन्ने देखिएको छ । 

भारतको केन्द्र सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै नेपाली बजारमा अभाव सिर्जना गरिएको छ । मूल्य केही घण्टामै २५ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ भने बजारमा उपलब्ध प्याज समेत व्यापारीहरुले लुकाएका छन् । 

गत वर्ष पनि भारतले सेप्टेम्बरमै प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला नेपाली बजारमा प्याजको मूल्य बढेर खुद्रामा प्रतिकेजी २०० रुपैयाँभन्दा बढी पुगेको थियो । नेपालमा मंगलबार प्रतिकेजी प्याज ८० देखि १०० रुपैयाँमा किनबेच हुन थालेको छ । 

भारतले निर्यात ठप्प पार्दा र चीनबाट समेत तत्काल आयात गर्न नसकिने हुँदा स्टकमा रहेको प्याजको मूल्य समेत गत वर्ष झै २०० रुपैयाँ पुग्ने आशामा व्यापारीहरुले लुकाएका छन् । यसले आगामी केही दिनसम्म प्याजको घरेलु मूल्यमा तीव्र दवाब पर्ने देखिएको छ । 

कालीमाटी फलफूल तथा बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार नेपाली बजारमा बिक्री हुने प्याजमध्ये भारतीय उत्पादनको हिस्सा ९९ प्रतिशतसम्म छ । पूरा बजार नै भारतीय प्याजमा निर्भर रहेकोले त्यहाँको सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको अभाव हुने र मूल्य समेत निकै माथि पुग्ने उनको अनुमान छ । 

अघिल्ला २ महिनाहरुको तथ्यांकअनुसार कालीमाटीबाट मात्र दैनिक ६० देखि ६५ टन प्याज बिक्री हुने गरेको देखिन्छ । यी सबै प्याज भारतबाटै आयात भएको थियो । 

भारतबाट ५–७ दिनमै प्याज आयात गर्न सकिने भए पनि चीनबाट आयात गर्नुपर्दा १ महिना समय लाग्ने भएकोले समेत केही दिन नेपाली बजारमा प्याजको हाहाकार हुने संभावा बढेको उनको आँकलन छ । ‘भारतले निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा चीनबाट प्याज ल्याएर समेत नेपाली बजारको माग धान्न सकिएला, तर त्यहाँबाट प्याज ल्याउनु कठीन छ ।’ श्रेष्ठले भने–‘एक त समय धेरै लाग्छ, अर्को ढुवानीका लागि बढी अवधि चाहिने हुनाले पानीको मात्रा धेरै हुने चाइनिज प्याज बाटोमै कुहिने डर पनि हुन्छ । नेपाली उपभोक्ताले चाइनिज प्याज खासै मन पनि पराउँदैनन् ।’ 

अघिल्लो वर्ष प्रतिबन्धको बाबजुद कतिपय व्यापारीहरुले विभिन्न नाकाबाट समेत प्याज नेपाल भित्र्याएका कारण मागलाई धान्न सहज भएको थियो । त्यसबेला न्यूनतम निर्यात मूल्य समेत भारतले तोकेको थियो । यसले समेत कानूनी बाटोबाटै आयात गर्नेहरुलाई मूल्य महङ्गो परे पनि केही सहज भएको थियो । तर, यसपटक न्यूनतम निर्यात मूल्य समेत नतोकेको अवस्थामा भारतबाट कसरी प्याज ल्याउने र नेपाली बजारको माग धान्ने विषय अन्यौलमै रहेको श्रेष्ठ बताउँछन् । 

कालीमाटी फलफूल तथा बजार विकास समिति र यस मातहतका व्यापारीहरुसँग धेरै परिमाणमा प्याज स्टक गर्ने ठाउँ(गोदाम) नभएको र आफूहरुसँग एकदुई दिनको माग धान्ने परिमाण मात्र बाँकी रहेको उनको दाबी छ । ‘यस्तो बेलामा कुनै व्यापारीले कालोबजारी गरे/नगरेको, कृत्रिम अभाव सिर्जना गरे/नगरेको विषय बुझ्न सरकारले अनुगमनलाई तीव्र पार्नुपर्छ ।’ उनले बिजशालासँग भने । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्याजको निर्यात भारतले रोक्ने बित्तिकै नेपालमा कालोबजारी हुनसक्ने संभावनालाई दृष्टिगत गरी मंगलबार बिहानैदेखि बजार अनुगमन थालिएको जानकारी दिए । ‘पुरानो स्टकमा कति परिमाणमा प्याज रहेछ भन्ने कुरा बुझ्न समेत हाम्रा साथीहरु पठाएका छौं ।’ सुवेदीले बिजशालासँग भने–‘स्टकको पूरा विवरण आइसकेपछि थप रणनीति बनाउन सहज हुन्छ ।’ 

उनले भारतले पूर्ण प्रतिबन्ध लगाई नेपाललाई पनि निर्यात गर्न नदिएको अवस्थामा चीनबाट प्याज ल्याउन सकिने बताए । द्रूत गतिको प्रक्रियाबाट अगाडि बढ्दा चीनबाट १५ दिनभित्रमा प्याज आयात गर्न सकिने उनको दाबी छ । 

उता, भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार साउन महिनामा भारतबाट फ्रेस प्याज(हरियो प्याज) ८० लाख २ हजार ३१२ केजी आयात भएको छ । यो अवधिमा सुकेको भारतीय प्याज चाहिँ ८९ लाख ४६ हजार १९६ केजी आयात भएको देखिन्छ । 

साउन महिनामा चीनबाट भने सुकेको प्याज ८ हजार ७५० केजी मात्र आयात भएको देखिन्छ । यो तथ्याङ्कले समेत नेपाली बजार भारतीय प्याजमा कुन हदसम्म निर्भर छ भन्ने देखिन्छ । यसले समेत चाडपर्वको मुखमा प्याजको अभाव हुने र उपभोक्तालाई मूल्यले रुवाउने संभावना प्रवल देखिन्छ ।