काठमाण्डौ । जनरल इन्स्योरेन्सको आइपीओको रिजल्ट प्राप्त भएको छ । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज बिहान १०ः३० बजे आइपीओ बाँडफाँड गरेको हो । 

आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको क्यापिटलले जनाएको छ । 

यसको अर्थ ७ लाख ९४ हजार ५४६ आवेदकबाट २ करोड १४ लाख १० हजार ७३० कित्ता सेयरका लागि प्राप्त आवेदन मात्र रितपूर्वक रहेको देखिएको छ । 

आइपीओ खरीदका लागि १० देखि १० हजार कित्तासम्म माग गर्ने सबैलाई एउटै समूहमा राखी गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । जसमध्ये कुल २ लाख ७३ हजार आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । 

यसरी हेर्दा जनरल इन्स्योरेन्सको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये ३४ प्रतिशतले मात्र सेयर पाएका छन् । 

बाँकी ६६ प्रतिशत आवेदकको रित्तो हात भएको छ । 

रितपूर्वक आवेदन दिएकामध्ये पनि ५ लाख २४ हजार ५४३ जनाको हात रित्तो भएको छ । 

यो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म आइपीओमा आवेदन खुल्ला गरेको थियो । यो कम्पनीको आइपीओले यसअघिका आइपीओका सबै रेकर्ड तोडेर सर्वाधिक आवेदन पर्ने नयाँ रेकर्ड बनाएको थियो । 

आइपीओको रिजल्ट सजिलो तरिकाले बिजशालामा हेर्न पाइने भएको छ । बिजशालाको यो लिंकमा क्लिक गरेर कम्पनीको नाम र डिम्याट खाता नम्बर हालेर आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।