काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लिमीटेडले विभिन्न कम्पनीको बोनस र हकप्रद गरी १ करोड ७६ लाख २३ हजार ८ सय ३३ कित्ता शेयर सूचिकृत गरेको छ । 

आइतबार विभिन्न ८ कम्पनीको सो संख्याको शेयर कारोबारका लागि सूचिकृत भएको हो । यी ८ कम्पनीका शेयरधनी भई बोनस र हकप्रद शेयर पाएकाहरुले सोमबारदेखि आफ्नो शेयर कारोबार गर्न सक्नेछन् । 

नेप्सेका अनुसार कारोबारका लागि सूचिकृत भएका कम्पनीहरुमा गरिमा विकास बैंक, सनराइज बैंक लगायतका छन् । गरिमा विकास बैंकको १४ लाख २२ हजार कित्ता बोनस शेयर, ओरिएन्टल होटेल लिमीटेडको १ करोड ५ लाख ३० हजार ८ सय ३८ कित्ता बोनस शेयर, ओमी माइक्रोफाइनान्स बित्तीय संस्थाको ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । 

यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमीटेडको ४ लाख २२ हजार ६ सय ६५ कित्ता बोनस शेयर, सनराइज बैंकको ३६ लाख ९० हजार ४ सय ७३ कित्ता हकप्रद, एक्सेल डेभलपमेन्ट बैंकको पनि ५ लाख २५ हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । 

जेबिल्स फाइनान्स लिमीटेडको ३ लाख ६८ हजार ५ सय कित्ता र यूनाइटेड फाइनान्स लिमीटेडको पनि ६ लाख ४ हजार ३ सय ५७ कित्ता बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचिकृत भएको छ ।