काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको छ । 

बीओकेले  आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमीटेड तथा छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडको संस्थापक समूहको साढे ७ लाख कित्ता सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । 

आरएमडिसीको संस्थापक सेयर कुल १,४९,८०० कित्ता शेयरको (गोप्य शिलबन्दी) बोलपत्र आव्हान गरी आज(फागुन ५)गतेदेखि लिलाम बढाबढमा राखेको हो । फागुन ९ गतेसम्म इच्छुकले गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । 

यस लिलामीको शेयरमा विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन्। बैंकले उक्त शेयरको न्यूनतम मूल्य रु. ५४० कायम गरेकोले आवेदन दिंदा सो वा सो भन्दा बढी रकम कबुल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस्तै, न्यूनतम २००० (दुई हजार) कित्ता तोकिएकोले सो वा सोभन्दा बढी कित्ताको निमित्त आवेदन दिनुपर्नेछ ।

यसको बिक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लिमीटेड रहेको छ। 

यस्तै, बीओकेले छिमेक लघुवित्तको संस्थापक समूहको ६,०६,१४० कित्ता शेयरको(गोप्य शिलबन्दी) बोलपत्र आव्हान गरी आज(फागुन ५ गते)देखि  ९ गतेसम्म नै लिलाम बढाबढको माध्यमबाट बिक्री खुलाएको छ । यस लिलामीको शेयरमा विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन्। बैंकले उक्त शेयरको न्यूनतम मूल्य रु. ६०० कायम गरकोले आवेदन दिंदा सो वा सो भन्दा बढी रकम कबुल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो कम्पनीमा पनि न्यूनतम २००० (दुई हजार) कित्ता तोकिएकोले सो वा सो भन्दा बढी कित्ताको निमित्त आवेदन दिनुपर्नेछ । यसको समेत बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमीटेड नै रहेको छ । 

यी दुवै कम्पनीको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन्।

कम्पनीको विद्यमान शेयरधनीहरुले सेयर खरीदका लागि आवेदन दिंदा शेयरधनी नम्बर वा हितग्राही खाता नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।