काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ७ करोड ४८ लाख रुपैयाँले बढाउन सफल भएको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । संस्थाले समीक्षा अवधिमा ३३ करोड २४ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २५ करोड ७५ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले ब्याज आम्दानी ४८ करोड ३१ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षमा ४० करोड ५९ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यवसाय विस्तारले गति लिएको देखिन्छ । 

संस्थाको सञ्चालन मुनाफा ४८ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४० करोड ३१ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ३८ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ८ लाख रुपैयाँ थियो । 

यस अवधिमा संस्थाले ६ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २२ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ५ अर्ब ६१ करोड सापटी लिई ६ अर्ब ८४ करोड ऋण प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ७९ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी पनि त्यत्ति नै थियो । 

संस्थाले जगेडा कोष १ अर्ब ६१ करोड रुपैयाँको पुर्याएको छ । अघिल्लो वर्ष यो कोषको आकार १ अर्ब २८ करोड रुपैयाँको थियो । समीक्षा अवधिमा बैंकले जगेडा कोषमा २५.७० प्रतिशतले वृद्धि गरेको हो । 

संस्थाको प्रतिसेयर आम्दानी ४१.५९ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १५.८९ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ ३०२.०८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११७४.२३ रुपैयाँ रहेको छ ।