काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आज (असार ६ गते) बाट पौने ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ। 

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४७७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र यही असार ११ गते बैंकिङ समयसम्म पेस गरिसक्नुपर्नेछ।