काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको पौने ४ लाख बढी कित्ता संस्थापक सेयर आज असार १५ गतेबाट लिलामीमा राखिएको छ। 

आरएमडीसी लघुवित्तमा एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लाख ८४ हजार ९९५ कित्ता सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४१ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ। लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन पेस गर्न सक्नेछन्।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार २१ बैंकिङ समयसम्म तोकिएको छ।