काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा आरएमडीसी लघुवित्तको नाफा २३ करोड २५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.६८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २९.३८ प्रतिशत घटेको छ। अघिल्लो वर्ष यही अवधिमा ४५ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा घटेर ३१ करोड ९२ लाख रुपैयाँमा सीमित बनेको छ। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि १२.२४ प्रतिशतले घटेर ४० करोड ३९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी ४६ करोड २ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले समीक्षा अवधिमा ९ अर्ब ३७ करोड रुपैयाँ सापटी लिई ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ६ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार १४.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ५० करोड रुपैयाँ रहेको रिभर्जको आकार समीक्षा अवधिमा बढेर १ अर्ब ७४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २२.४९ रुपैयाँ रहेको छ। पीई रेसियो ६१.०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६९.०३ रुपैयाँ रहेको छ।