– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाएको छ। यो बैंकले ग्राहक केन्द्रित बैंकिङ संस्कारको विकास गर्नुका साथै ग्राहकको दैनिकीको सारथि बनेर घरेलु बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको छ।

नबिल बैंक ग्राहक, सेयरधनी, नियमनकर्ता, समुदाय र कर्मचारीजस्ता आफ्ना सबै सरोकारवालाहरुका लागि सम्पूर्ण वित्तीय समाधान गर्ने पहिलो रोजाई भन्ने लक्ष्य प्राप्तिका दिशामा अघि बढेको छ। कुशल र दक्ष जनशक्तिको टिम उद्योग केन्द्रित दिशानिर्देशन र कुशल आर्थिक व्यवस्थापनका कारण नै बैंकले ग्राहकलाई उच्चतम सेवा दिइरहेको छ। 

यो बैंकको केन्द्रीय कार्यालय काठमाण्डौको दरबारमार्गमा रहेको छ। हालसम्म यो बैंकका देशभर २३३ वटा शाखा छन् भने २०० भन्दा बढी अन्तर्राष्ट्रिय करेसपोन्डिङ बैंकिङ सेवा पनि रहेका छन्। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष २७ अर्ब ५१ करोड ४२ लाख रुपैयाँबराबर रहेको छ भने रिटेन अर्निङ २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँबराबर रहेको छ। 

समीक्षा अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। बैंकको बुक भ्यालु २३३ रुपैयाँ र प्रतिसेयर आम्दानी (ईपीएस) २७.५३ रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा यस अवधिमा बैंकको ईपीएस ३२.१४ रुपैयाँ रहेको छ। यस हिसाबले बैंकको ईपीएस १४.३३ प्रतिशतले घटेको छ।  

समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्विटी ११.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिटर्न अन इक्विटी १२.९९ प्रतिशत थियो। बैंकको एनपीएल २.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.३३ प्रतिशत थियो।

बैंकको विगत १० वर्षको वार्षिक औसत लाभांश दर ४३ प्रतिशतभन्दा बढी रहेको छ। गत आर्थिक वर्षका आम्दानीबाट कम्पनीले ३० प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले बुक क्लोजको मिति तय गरेको छैन। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

यस मिटरका आधारमा नबिल बैंकको सेयरमूल्य  न्युट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ। यसले खरिदबिक्री सामान्य रहेको बुझिन्छ। बैंकको ५२ साताको उच्च मूल्य १५२४ रुपैयाँ र न्यून मूल्य ७४० रुपैयाँसम्म आएको थियो। हाल दोस्रो बजारमा यो बैंकको अन्तिम कारोबार ८१९ रुपैयाँ रहेको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई 

बोलिंगर ब्यान्डको आवरली चार्टका आधारमा नबिल बैंकको सेयरमूल्यले लोवर ब्यान्डलाई छोएर इन्भर्टेड ह्याम्मर बनेको छ। यसले यो बैंकको सेयरमूल्य विस्तारै सम्हालिँदै गएको देखिन्छ। 

म्याक्डीमा गत ४ डिसेम्बरमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। तर, हिस्टोग्राम नेगेटिभ भए पनि आज अन्तिम दुई घन्टामा फिक्का बनेको छ। यसले पनि बैंकको सेयर सम्हालिँदै गएको बुझिन्छ। 

यो बैंैकको आरएसआई हाल २३ को ओभर सोल्ड जोनबाट फर्केर २७ को जोनमा पुगेको छ। यदि आगामी कारोबारमा ३० भन्दा माथि पुगेमा नबिल बैंकको सेयरले बुलिस यात्रा तय गर्ने देखिन्छ। 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि आगामी दिनमा नबिल बैंकको सेयर घटेमा ०.२३ प्रतिशतको टेवामा ८८० रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ८६१ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ८३८ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ८०० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

निष्कर्ष

आधारभूत रुपमा नबिल बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी तथा रिटर्न अन इक्विटीमा केही गिरावट आएको देखिन्छ। तर, पनि पुँजीको तुलनामा रिजर्भ बढी हुनु बैंकको बलियो पक्ष देखिन्छ। 

प्राविधिक रुपमा हेर्दा फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकमा लगानीकर्ताको न्युट्रल सेन्टिमेन्ट रहेको देखिन्छ। आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर इन्भर्टेड ह्याम्मर बनाएको छ। यसले बैंकको सेयरमूल्यमा बढोत्तरी आउन सक्ने देखिन्छ। 

फिवोनासीमार्फत हेर्दा पछिल्लोपटकको गिरावटबाट ०.६१ प्रतिशतको विन्दु ८०० रुपैयाँमा सपोर्ट लिएको देखिन्छ।

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।