काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा २ करोड ६६ लाख रुपैयाँले बढाउन सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७१.२२ प्रतिशतले बढी हो । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १२ करोड २९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ७ करोड २ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तार निकै आक्रामक देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ५ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ६८ लाख रुपैयाँमा सीमित थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ८० करोड रुपैयाँ सापटी लिई २ अर्ब ५१ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब १८ करोड रुपैयाँ सापटी लिई १ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ६३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ४८ करोड ६७ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १३६.७५ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष ७ करोड १४ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १६ करोड ९२ लाख रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३३.८६ गुणा, प्रतिसेयर नेटवर्थ १२६.७१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.५४ रुपैयाँ रहेको छ ।