काठमाण्डौ । लाभांश पारित र अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रियाको थालनीको मुख्य अजेन्डासहित आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।

संस्थाको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते रुपन्देहीको बुटवलमा आयोजना गर्ने निर्णय गरेको हो। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल चुक्तापुँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्ने छ। प्रस्तावित लाभांशमा ९ प्रतिशतले हुन आउने ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँबराबरको बोनस सेयर र ३.६३ प्रतिशतले हुन आउने २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर वा प्राप्ति प्रक्रियाको सम्भाव्य अध्ययन गरी आवश्यकताबमोजिम प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो पुस १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ९ गतेसम्म कायम सेयरधनीहरु संस्थाको सभामा भाग लिन र लाभांश प्राप्ति गर्न योग्य हुनेछन्।