काठमाण्डौ । अन्तर्राष्ट्रिय दातृनिकाय डीएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा गत भदौ २६ गतेदेखि राष्ट बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोड्युलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैँकले लिने कार्य आज माघ २ मा बैकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

गभर्नरको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्क ,यूके एड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भुक्तानी प्रणाली विभागका निर्देशक  निश्चल अधिकारीले गरे । कार्यक्रमको सुरुवातमा यूके एड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले े रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोड्युलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त प्रोजेक्ट  कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेलले आरटीजीएसमार्फत हुने कारोवारहरु हाल मासिक औसत रु. १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिँदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटीजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्ने यूके एड सक्षम प्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको दास्रो सत्रमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) हस्तान्तरण गरी लिनका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल  र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक  कडेलबीच े रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) हस्तान्तरण प्रमाणपत्र आदानप्रदान भयो । त्यस्तै मोड्युलर डाटा सेन्टर  हस्तान्तरण गरी लिनका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल  र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच मोड्युलर डाटा सेन्टर प्रमाणपत्र हस्तान्तरण आदानप्रदान भएको थियो ।

सर्टिफिकेट आदानप्रदान कार्यक्रमपश्चात्, कार्यक्रममा उपस्थित नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि यूके एडले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्घता जाहेर गरे ।

कार्यक्रममा  गभर्नरबाट रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोड्युलर डाटा सेन्टर हस्तान्तरण गरी लिने कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाईका साथै आगामी दिनहरुका लागि शुभकामना व्यक्त गरे । नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले बेलायत सरकार तथा यूकेका जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । यूके एड सक्षम एक्सेस टू फाइनान्स प्रोजेक्टले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दैै सो प्रोजेक्टले डुइगं बिजनेस इण्डेक्समा नेपालको तह बढाउन सहयोग गरेको चर्चा गरे। मन्तव्यकै क्रममा गभर्नरले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत यूके एडबाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गरे ।