काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.८८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ करोड ९४ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ५ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ३ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले ९७ करोड ४६ रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाले रिजर्भको आकार पनि २६६.६७ प्रतिशतले बढाएर ८ करोड २७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार २ करोड २५ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.७० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.४५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३१.४२ रुपैयाँ रहेको छ।