काठमाण्डौ । गत फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमी देशहरुले रुसमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएका छन्। रुसमाथि अन्य देशले प्रतिबन्धहरु लगाउन थालेका छन्। 

आर्थिक प्रतिबन्ध रुसको अर्थतन्त्रलाई धरासायी बनाउने र युद्ध रोक्ने खोज्ने अस्त्रका रुपमा प्रयोग भइरहेको छ। तर, रुसलाई आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न सक्ने आँकलन थियो। यसका लागि ऊ पहिलेदेखि नै तयार थियो। 

प्रतिबन्धहरुबीच रुसलाई चीन सहयोगीका रुपमा अगाडि आएको छ। यी दुई राष्ट्रबीचको सम्बन्ध केही वर्षयता उल्लेखनीय रुपमा सुदृढ रहेको देखिन्छ।

वास्तवमा चीनले गत डिसेम्बरमै रुसबाट तेल खरिद बढाएको थियो। 

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार चीनको तेल खरिददारीसाउदी अरेबियाबाट खरिद गरेको तेललाई उछिनेर पहिलो नम्बरमा पुगेको छ। त्यसैगरी रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा ६ दिनअघि चीनलाई १० करोड टन कोइला बेच्ने सम्झौता पनि गरेको थियो। युक्रेनमा बम विष्फोट हुनुभन्दा केही घन्टाअघि चीनले रुसी गहुँ किन्न स्वीकृति पनि दिएको थियो। 

चीन र रुसको निकटताले सन् १९५० को दशकको सम्झना दिलाउँछ। जब चीनका माओ त्सेतुङले रुसका जोसेफ स्टालिन र त्यसपछि निकिता ख्रश्चेभसँग मिलेर काम गरेका थिए। बेइजिङको रेनमिन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर शी यिन्होङले भने, ‘अहिलेसम्म जे भयो, त्यो शक्तिको प्रयोगबाट रुसी विस्तारवाद र रुसलाई चीनको आर्थिक र वित्तीय सहायता दुवैको सुरुआत हो। यसको मतलब चीनले विस्तारवादलाई कुनै पनि हदसम्म समर्थन गर्छ भन्ने होइन। यसको अर्थ बेइजिङले मस्कोसँग रणनीतिक साझेदारी कायम गर्नुपर्ने आवश्यकता महसुस गरेकोमात्र हो।’

चीन र रुसबीच करिब २ हजार ७०० माइलको सीमाना छ। पछिल्ला केही वर्षमा चीन रुसी आयातको सबैभन्दा ठूलो स्रोतका रूपमा उभिएको छ। योसँगै चीनसँगै रुसको निर्यात पनि बढेको छ। 

ग्लोबल टाइम्सको रिपोर्टअनुसार सन् २०२१ मा चीन लगातार १२ औँ वर्ष रुसको सबैभन्दा ठूलो व्यापार साझेदार थियो। द्विपक्षीय व्यापार गत वर्ष १४६.९ अर्ब डलरको नयाँ उच्चमा पुगेको छ। जुन वार्षिक रुपमा ३५.९ प्रतिशतले बढेको छ। 

चीन इलेक्ट्रोनिक्स, मेसिनरी र अन्य उत्पादित सामानको विश्वको सबैभन्दा ठूलो उत्पादक हो र खाना र ऊर्जाको सट्टामा रुसलाई आपूर्ति गर्दछ।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई गाभेपछि त्यसमाथि पनि प्रतिबन्ध लगाइएको थियो। यी प्रतिबन्धहरुपछि रुस–चीन द्विपक्षीय व्यापार ५० प्रतिशतभन्दा बढी बढ्यो र चीन रूसको सबैभन्दा ठूलो निर्यात गन्तव्य बन्यो। 

दुवै देशले सन् २०२४ सम्म कुल व्यापार २०० अर्ब डलरसम्म पुर्याउने लक्ष्य राखेका थिए। तर, गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शीतकालीन ओलम्पिकमा चीनको भ्रमण गर्दा नयाँ लक्ष्य घोषणा गरेका छन्। अब दुवै देशले द्विपक्षीय व्यापार २५० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन्।

गत वर्ष चीनले रुसबाट दैनिक औसत १५ करोड ९० लाख ब्यारेल तेल आयात गरेको थियो। यो चिनी आयातको करिब १५.५ प्रतिशत हो। रुस पनि चीनको नम्बर ३ ग्यास आपूर्तिकर्ता हो। रुसले सन् २०२१ मा चीनलाई १६.५ बिलियन घन मिटर (बीसीएम) इन्धन निर्यात गरेको थियो। यो चिनियाँ मागको करिब ५ प्रतिशत हो। 

रसिया सन् २०२१ मा चीनको कोइला आपूर्तिकर्ता दोस्रो ठूलो देश पनि हो। –एजेन्सी