काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक विकासका लागि बैंकिङ क्षेत्रको अहम भूमिका रहने बताएका छन्। 

नेकपा बैंकर्स संघ (एनबीए)को कार्यकारिणी समितिका पदाधिकारीहरुसँग भेटमा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। 

भेटमा एनबीएका अध्यक्ष सुनील केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुरु्याएको योगदान बारेमा स्मरण गराए। पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी दिँदै उनले भने, ‘यस क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारका तर्फबाट सदाझैँ पूर्णसहयोगको अपेक्षा राखेका छौँ।’

नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा एनबीएका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रका बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभावलगायतको विषयमा अवगत गराए। उनीहरुले बैंकिङ क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

भेटमा एनबीएका पदाधिकारीले नवनियुक्त अर्थमन्त्री महतलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए।