काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६७.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १५ करोड ५१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन घाटा ७२ लाख रुपैयाँ बढी रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ७८.४० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १० करोड ६४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर १८ करोड ९८ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा संस्थाले २ अर्ब ११ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब ४० करोड रुपैयाँ सापटी लिई २ अर्ब २६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १३६.५० प्रतिशतले बढेर १५ करोड ३५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ६ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ५३.२९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.४६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.४० रुपैयाँ रहेको छ।