काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता बढी सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको छ। 

संस्थाको ५१ हजार ९९० कित्ता संस्थापक सेयर आउँदो असोज ५ गतेबाट लिलामीमा राखिने भएको हो। यो लिलामी सेयरमा जोकोही योग्य व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम ६ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १३ गते बैंकिङ समयसम्म तोकिएको छ।