काठमाण्डौ । धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स वितरण गर्ने गरी नियमावली बनाउने काम अगाडि बढाएको छ । 

बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले बैंकका सहायक कम्पनीलाई मात्र नभई पब्लिक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्स वितरणको तयारी गरेको हो । 

'बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको कामलाई फाइनलाइज गर्ने उद्देश्यले आवश्यक तयारी अगाडि बढाएका छौं ।' बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने-'हामीले प्रादेशिक स्तरमा समेत ब्रोकर लाइसेन्स वितरण गर्नेछौं । प्रदेशमा विभिन्न संस्थाहरुलाई योग्यता र आवश्यकताका आधारमा ब्रोकर लाइसेन्स वितरण गरिनेछ ।' 

उनले प्रदेश स्तरमा बढीभन्दा बढी कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरिने समेत दाबी गरे । 

प्रक्रिया पूरा गरेर आएका बैंकका सहायक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्सका लागि बोर्डले सहजीकरण गर्नेछ । 

यस्तै, हाल कायम ब्रोकरहरुको शाखा तथा सेवा बिस्तारलाई समेत खुल्ला गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । 

'हामीले ब्रोकर सेवालाई बृहत र व्यापक बनाउनुपर्छ भन्ने निश्कर्षका साथ नियमावली बनाएर अगाडि बढ्ने निर्णय गरेका छौं ।' उनले भने-'बैंकका सहायक कम्पनी लगायतलाई ब्रोकर लाइसेन्स वितरण गर्ने उद्देश्यले नियमावली बनाउनका लागि अर्थमन्त्रालयको संयोजकत्वमा एक कार्यदल समेत बनाउने बुधबारको बैठकले निर्णय गरेको छ ।' 

ढुंगानाका अनुसार सो कार्यदलले चाँडै नियमावली बनाउने र त्यसकै आधारमा बाँकी कामहरुलाई अगाडि बढाइनेछ । 

'अब बैंकका सहायक कम्पनीहरु पनि ब्रोकर लाइसेन्सका लागि तयार भए हुन्छ ।' ढुंगानाले भने-'इच्छुक जति योग्य कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण हुनेछ ।'