काठमाण्डौ । कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएको इटालीको अवस्था झनै दर्दनाक बनेको छ । त्यहाँ मार्च २२ मा मात्रै थप ६५१ संक्रमितले ज्यान गुमाएका छन् । 

विश्व स्वास्थ्य संगठनको ताजा रिपोर्टअनुसार इटलीमा हालसम्म कोभिड १९ संक्रमणका कारण मर्नेको संख्या ह्वात्तै बढेर ५ हजार ४ सय ७६ पुगेको छ । 
इटलीमा एकैदिन कोरोना संक्रमणका ५ हजार ५६० नयाँ केस देखिएका छन् । योसँगै इटलीमा मार्च २२ को अंग्रेजी समय साँझ ६ बजेसम्ममा कोभिड १९ बाट संक्रमण हुनेको संख्या ५९ हजार १३८ पुगेको छ । 

उपचार गराइरहेका संक्रमितमध्यो यो समाचार तयार पार्दासम्म ३ हजारको अवस्था निकै जटिल रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ । 

इटलीपछि स्पेनमा कोरोना संक्रमण आगो झै फैलिइरहेको छ । स्पेनमा मार्च २२ को दिन मात्रै ३७५ संक्रमितको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ । स्पेनमा २८ हजार ६०३ संक्रमितको संख्या पुगेकोमा १७०० भन्दा बढी बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ । 

यस्तै, इरानमा एकैदिन १२९ जनाले ज्यान गुमाएका छन् । यहाँ पनि कोरोना संक्रमणबाट मर्नेको संख्या १ हजार ६८५ पुगिसकेको छ । 

इरानपछि एकैदिन सबैभन्दा बढी ९४ जना संक्रमितको अमेरिकामा मृत्यु भएको छ । यसरी हेर्दा अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ३९६ पुगेको छ । अघिल्लो दिन अमेरिकामा ४६ जनाको मात्र मृत्यु भएको थियो । अमेरिकामा संक्रमितमध्ये ७०८ जनाको अवस्था निकै गम्भीर छ । 

बेलायतमा संक्रमितमध्ये ४८ जनाको पुनः ज्यान गएको छ । योसँगै त्यहाँ मर्नेको संख्या २८१ पुगेको छ । 

नेदरल्याण्डमा पनि एकैदिन ४३ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेदरल्याण्डमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७९ पुगेको छ । यहाँ ३५४ जनाको अवस्था निकै जटिल छ । 

कोरोना उत्पति भएको देश चीनमा थप ६ जनाको मृत्यु भएको छ भने त्यहाँका १८४५ जना संक्रमितको अवस्था जटिल छ । 

कोरोनाबाट मर्नेको संख्या इण्डोनेशियामा १० जना थपिएर ४८, फिलिपिन्समा ६ जना थप भई २५, इराकमा ३ जना थप भई २०, अल्जेरियामा २ जना थपिएर १७ पुगेको छ । 

विश्वभरमा कोरोना संक्रमणबाट यो दिन १४२९ थप संक्रमितको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । 

विश्वभरका संक्रमितमध्ये १० हजार २९८ जनाको अवस्था निकै जटिल रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

हालसम्म विश्वभर कोभिड १९ को संक्रमणबाट ३ लाख ३२ हजार १४८ जना संक्रमित भइसकेका छन् । तीमध्ये हालसम्म १४ हजार ४४४ जनाको मृत्यु भइसकेको छ ।