काठमाण्डौ । कोरोना संक्रमणले तहसनहस इटलीको अवस्था अझै भयावह बन्न थालेको छ । 

इटलीमा दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै उच्चको नयाँ रेकर्ड बनेको हो । 

कोरोना रोकथामका सरकार र नागरिकहरुबाट हेलचेक्र्याईँ हुँदाको परिणाम इटलीले अहिले प्रत्येक दिनजसो भोगिरहेको छ । 

प्रत्येक दिन ५०० देखि ७०० को हाराहारीमा संक्रमितको मृत्यु हुने गरेको इटलीमा १७ घण्टाको अवधिमा थप ९१९ जना संक्रमितले ज्यान गुमाएका छन् । योसहित इटलीमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ९ हजार १३४ पुगेको छ । 

इटलीले कुल संक्रमितको संख्या चीनलाई ओभरेट गरेको छ । यो समाचार तयार पार्दासम्म इटलीमा ५ हजार ९०० बढी नयाँ संक्रमित थपिएर कुल संक्रमित हुनेको संख्या ८६ हजार ५०० पुगेको छ । 

हालसम्म सबैभन्दा धेरै मानिस संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा हालसम्म ९४ हजार बढीलाई कोभिड १९ को संक्रमण भएको छ । 
अमेरिकामा पनि पछिल्लो १७ घण्टाको अवधिमा १३४ संक्रमितको मृत्यु भई कुल मृतकको संख्या १४२९ पुगेको छ । 

केही दिनअघिदेखिको टेण्ड झै इटलीपछि एकैदिन धेरै संक्रमितको मृत्यु हुने मामलामा स्पेन यो दिन पनि अगाडि नै रह्यो । यो १७ घण्टामा स्पेनमा ५६९ संक्रमितको ज्यान गएको छ । योसँगै स्पेनमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । 

यसरी हेर्दा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटलीमा धेरै छ भने दोश्रो नम्बरमा स्पेन आएको छ । तेश्रोमा चीन र चौथोमा इरान छन् । चीनमा हालसम्म ३२९२ र इरानमा २३७८ संक्रमितको मृत्यु भइसकेको छ । इरानमा पछिल्लो १७ घण्टा १४४ थप संक्रमितको ज्यान गएको छ । 

पछिल्लो दिन बेलायतमा समेत कोरोना संक्रमणको गति तीव्र बनिरहेको तथ्यांकले देखाउँछ । पछिल्लो १७ घण्टामा बेलायतमा पनि थप १८१ संक्रमितको मृत्यु भएको छ । योसहित त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या ७५९ पुगेको छ भने कुल संक्रमितको संख्या १४ हजार ५०० माथि उक्लिसकेको छ ।

यो अवधिमा नेदरल्याण्डमा समेत थप ११२ संक्रमितको ज्यान गएको छ । योसहित नेदरल्याण्डमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५४६ पुगेको छ । 

भारतमा यो अवधिमा संक्रमणबाट थप कसैको मृत्यु नभए पनि संक्रमित हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा ह्वात्तै बढेको छ । यो दिन त्यहाँ १६० बढी नयाँ संक्रमित थपिए । अघिल्लो दिन ७० जना मात्रै नयाँ संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कोभिड १९ बाट संक्रमित हुनेहरुको कुल संख्या ८८७ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणका कारण  २६ हजार ४४७ व्यक्तिको मृत्यु भइसकेको छ भने ५ लाख ७७ हजार बढीमा संक्रमण भएको छ । १ लाख ३० हजार ६०० बढी संक्रमति उपचारपछि निको भएका छन् ।