काठमाण्डौ । उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा करिब ३० वर्षसम्म नेपाली कांग्रेस समर्थक व्यापारीहरुले बनाएको किल्ला एमाले समर्थित व्यापारीको टिमले पहिलोपटक भत्काइदिएको छ । 

शुक्रबार सम्पन्न उवासंघ इटहरीको निर्वाचनमा एमालेको समर्थनमा अध्यक्षमा उम्मेद्वारी दिएका लिलम बस्नेत नेतृत्वको बहुुसंख्यक टिम फराकिलो मत अन्तरसहित विजयी भएपछि ३० वर्षदेखि कांग्रेसले बनाइराखेको किल्ला ढलेको हो । 

बस्नेतसहित उवासंघका अधिकांश पदमा उनकै प्यानल निर्वाचित भएको छ । 

असार २३ गते उवासंघको नयाँ नेतृत्वको लागि मतदान भएको थियो । ३३ सय ४० व्यापारी, व्यवसायी र उद्योगीले मतदानमा सहभागिता जनाएका थिए । 

असार २४ गते बिहानदेखि सदस्यहरुको मत गन्न सुरु गरिएको थियो । सो क्रममा उद्योग, वाणिज्य, वस्तुगत तथा एशोसिएसटतर्फका अधिकांश पदमा एमाले प्यानलबाट उम्मेद्वारी दिएकाहरुलाई जित हासिल गरेका छन् । 

स्थानीय संचारकर्मी लिलाराज भट्टराईका अनुसार लिलम बस्नेतले अध्यक्षमा १८५० मतसहित शानदार जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वरी पराजुलीले १३९५ मतमै चित्त बुझाउनुपर्यो । पराजुलीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका दलको समर्थन थियो । तर उपमहानगर क्षेत्रमा उपलब्ध प्राय सबै दलको समर्थन पाएका पराजुलीलाई एमालेको एक्लो समर्थन पाएका बस्नेतले पछारेका भन्दै एमाले कार्यकर्ताहरुले विजय जुलुस नै निकालेका छन् । 

सदस्यहरुमा वाणिज्यतर्फ एमाले प्यानलका शैलेश बिष्ट, भूपेन्द्र बराल, टंक खनाल, कमल पौडेल, विश्वराज धिमाल र उमानाथ दाहाल विजयी भएका छन् । कांग्रेस लगायतका दल समर्थित प्यानलबाट अनिल सुब्बा, भीम पौडेल र श्याम रिजाल निर्वाचित भएका छन् । 

महिला सदस्यको २ स्थानमा एमाले प्यानलकै मुना तिम्सिना र रञ्जु सिग्देलले जित हासिल गरेका छन् । 

यसैगरी, उद्योगतर्फ पराजुली प्यानलका दिवस पोखरेल र राजेन्द्र केशरी घिमिरे विजयी भएका छन् भने बस्नेत प्यानलबाट बजरंगलाल अग्रवाल, लक्ष्मण हुमागाई निर्वाचित भएका छन् । एशोसिएसटतर्फ एमालेकै सुदीप घिमिरे विजयी भएका छन् । 

वस्तुगततर्फ पराजुली  प्यानलका नवराज काफ्ले विजयी भएका छन् । लक्ष्मी धिताल र सन्तोष आचार्यको बराबरी मत आएपछि गोलाप्रथाद्वारा विजयीको टुंगो लगाइने बताइएको छ । 

अन्त भो कांग्रेसको राज
कांग्रेसले उद्योग वाणिज्य संघ इटहरीमा विगत ३० वर्षदेखि एकछत्र राज गरेको थियो । इटहरी र आसपासको क्षेत्र समेत सामेल २ नम्बर निर्वाचन क्षेत्रमा  सधैं एमालेका उम्मेद्वारले जित हासिल गरी संविधानसभा र संसदमा  पुग्ने गरे पनि वाणिज्य संघमा चाहि एमालेका उम्मेद्वारहरुले सधैं हार्ने गरेका थिए । पटक पटकको प्रयासमा समेत उवासंघमा कांग्रेसको किल्लालाई एमालेले तोड्न सकेको थिएन । 

इटहरी नगरपालिका मात्र छँदा कांग्रेसले एकछात्र राज गरेको उवासंघमा इटहरी उपमहानगरपालिका भएपछि एमालेले स्वर्णिम सुरुवात गरेको स्थानीयले बताए । साबिकको इटहरी नगरपालिकामा खनार, हासपोसा, पकली र एकम्बा गाविस गाभिएर उपमहानगरपालिका भएको हो र उपमहानगरपालिका भएपछि पहिलोपटक उवासंघको चुनाव भएको हो । नगरपालिकामा गाभिएका यी चार गाविस एमालेको गढ मानिन्छ । यही कारण समेत यसपटक एमालेले इतिहास रच्ने मौका पाएको विश्लेषण गरिएको छ । 

त्यसो त कांग्रेस समर्थित व्यापारीहरुले उवासंघको नेतृत्व गरे पनि उनीहरुले चित्तबुझ्दो काम गरेका थिएनन् । दुई कार्यकाल अध्यक्ष चलाएका निवर्तमान अध्यक्ष रोहित प्रसाईं त धेरैवटा विवादमा मुछिएका थिए । त्यसअघिका अध्यक्ष टंक दुलालले पनि खासै राम्रो काम गर्न सकेका थिएनन् । त्यसअघिका अध्यक्ष स्व. तीर्थ गौतमले तुलनात्मक रुपमा राम्रो काम गरेका थिए ।  

स्थानीय निर्वाचन जत्तिकै थियो तामझाम
निर्वाचन उवासंघको भए पनि त्यसको तामझाम, तयारी र चुनावी अभियान स्थानीय निर्वाचनको भन्दा कम थिएन । दलका नेताहरु नै रातदिन आ–आफ्नो प्यानललाई जिताउन मरिमेटेर लागि परेका थिए । इटहरी क्षेत्रमा उद्योग वाणिज्य संघको चुनावको सरगर्मी २ महिनाअघिदेखि नै व्याप्त थियो । स्थानीय निर्वाचनको झल्को दिने गरी थालिएको प्रचार अभियानमा एमाले र कांग्रेस र अन्य दलले समेत यसपटकको निर्वाचन तथा त्यसमा हुने जित र हारलाई आफ्नो दलीय प्रतिष्ठासँग जोडेर हेरेका थिए । मिनी स्थानीय निर्वाचनको समेत संज्ञा दिइएका कारण समेत यो चुनावले सबैलाई छोएको थियो ।