काठमाण्डौ । स्थानीय चार व्यवसायीहरुको संयुक्त लगानीमा सुनसरीको इटहरीमा ५० करोड रुपैयाँको लगानीमा तारे होटलको निर्माण कार्य द्रूत गतिमा अगाडि बढेको छ । 

गोरखा डिपार्टमेन्ट स्टोरका संचालक बलराम आचार्य, हार्डवेयर व्यवसायी तथा उद्योगी सुनिल अग्रवाल, निर्माण व्यवसायी भीम पौडेल र स्वास्थ्य व्यवसायी कृष्ण नेपालको संयुक्त लगानीमा इटहरी–२ मा गरिमा होटलको निर्माण कार्य द्रूत गतिमा अगाडि बढेको हो । 

गरिमा होटल प्रालिका अध्यक्ष बलराम आचार्यका अनुसार पूर्वाञ्चलमा हालसम्म तारे होटलहरु नरहेका र पाहुनाहरु आउँदा होटलको अभाव भोग्नुपर्ने तीतो यथार्थलाई बुझेर समग्र पूर्वकै पर्यटन प्रवद्र्धनको उद्देश्यले होटल संचालन गर्न खोजिएको हो । 

करिब एक विगाहा क्षेत्रफलमा हाल होटल बनिरहेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष आचार्यले बताए । उनका अनुसार ५० करोड बढी लगानीमा बन्ने होटेल कम्तीमा चारतारे हुनेछ । 

अण्डरग्राउण्ड समेत गरी ८ तलाको भवन हुने र ८८ वटा कोठाहरु बन्नेछन् । त्यसमा १२ वटा स्वीट रुम हुनेछ भने एउटा प्रेसिडेन्ट स्वीट रुम समेत हुनेछ । आचार्यको भनाईमा होटल अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो, तर नाकाबन्दी, भूकम्प लगायतका समस्याका कारण निर्माण कार्यले सोचेजस्तो गति लिन नसकेको हो । ‘अब चाहि बढीमा एकवर्षभित्रमा हामी संचालनमा ल्याइसक्नेछौ ।’ आचार्यले भने–‘पूर्वमा हाम्रो होटेल नै पहिलो तारे होटल बन्नेछ ।’ 

सुविधासम्पन्न होटेलमा आधुनिक ब्याङ्क्वेट हल, स्वीमिङ पुल, आधुनिक हेल्थ क्लब लगायतका सुविधा समेत हुनेछन् । गरिमा होटेलमा सुरुमै २ सय बढीले रोजगारी पाउने समेत उनले जानकारी दिए ।