काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार २०.६४ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २९४७.३८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार यसअघिको अलटाइम हाईको रेकर्ड ब्रेक गर्ने बाटोतिर लम्किरहेको बताउँछन्। ‘बजार आफ्नै लयमा चलेको छ, धेरै घटेकोले पनि छोटोमै पनि बजारमा उच्च अंकको बढोत्तरी भएको छ’, उनले भने।

कोभिड संक्रमण दर बढेसँगै अन्य क्षेत्रका लगानीकर्ताहरु पनि अहिले सेयर बजारमै प्रवेश गरेकोले पनि सकारात्मक महौल बनेको ढकालले बताए। ‘कारोबार बढ्नुले पनि यसलाई पुष्टि गर्छ’, उनले भने, ‘कारोबारले पनि विस्तारलाई बजार साथ दिइरहेको छ। पछिल्लो समय औसत दैनिक ७ अर्ब रुपैयाँ बढीकै कारोबार भइरहेको छ।’

बजार अहिले इन्ट्राडे करेक्सनहुँदै परिपक्व बनिरहेको ढकालको बुझाइ छ। अब कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट आउँदा बजारले थप गति लिने ढकालले बताए।

नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजार अहिले इन्ट्राडे करेक्सनहुँदै अगाडि बढिरहेको बताउँछन्। अन्य क्षेत्रमा विस्तारै चहलपहल घटेसँगै सेयर बजार बढेको हुन सक्ने बास्तोलको भनाइ छ। 

बजार मजबुत बन्दै गएको कुरालाई कारोबार पनि पुष्टि गरिरहेको बास्तोलाले बताए। ‘केही समयपहिले बाहिरिएका लगानीकर्ता पनि पुनः सेयर बजारमै फर्किएका हुन सक्छन्’, उनले भने, ‘अहिलेको बढाइमा सबै सूचकमा बढोत्तरी आएको हुँदा बजार मजुबत हुने र थप माथि जाने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र अन्य समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ।

आज विकास बैंक समूह सर्वाधिक ०.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३० प्रतिशतले घटेको यो दिन वित्त समूहमा ०.०३ प्रतिशत, लगानी समूहमा ०.२७ प्रतिशत र लघुवित्त समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ४१ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २४ करोड ९ लाख रुपैयाँ, नेपाल टेलिकमको २३ करोड ९८ लाख रुपैयाँ, शिवम सिमेन्टको २१ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ३८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड २८ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ६२ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने धेरै गुमाउने

आज मध्यभोटेकोशी जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।

यो दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ झन्डै ३ प्रतिशतले ओरालो लागेको छ।