काठमाण्डौ । भारत सरकारले पेट्रोल, डिजेल र जेट इन्धन (एटीएफ) मा निर्यात कर लगाउने निर्णय गरेको छ। 

पेट्रोल र एटीएफ निकासीमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३ रुपैयाँ कर लगाउने भारत सरकारले निर्णय गरेको हो। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ निर्यात गर्ने रिलायन्स इन्डस्ट्रिजजस्ता कम्पनीमा पर्नेछ।

यसबाहेक भारतले स्वदेशीस्तरमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन २३ हजार २५० रुपैयाँ अतिरिक्त कर लगाएको छ । यसले आन्तरिक रुपमा कच्चा तेल उत्पादन गर्ने ओएनजीसी र वेदान्त लिमिटेडजस्ता कम्पनीलाई असर गर्नेछ। 

भारत सरकारले वार्षिक २० लाख ब्यारेलभन्दा कम उत्पादन गर्ने कम्पनीलाई छुट दिने निर्णय पनि गरेको छ। ओएनजीसी, ओआईएल र वेदान्त लिमिटेडले रेकर्ड नाफा कमाएपछि सरकारले यो कर लगाएको हो।

यसैबीच भारतको स्वदेशी तेल कम्पनीहरुलाई आर्थिक वर्षमा निर्यात हुने तेलको कम्तीमा ५० प्रतिशत स्वदेशी बजारका लागि आरक्षित गर्न पनि भनिएको छ। भारत सरकारको यो निर्णयपछि ओएनजीसीको स्टक १२ प्रतिशतभन्दा बढीले करिब १३२ रुपैयाँमा झरेको छ। वेदान्तको स्टक पनि करिब ५ प्रतिशतले घटेको छ । योसँगै रिलायन्सको स्टक करिब ७ प्रतिशतले घटेर २ हजार ४१५ रुपैयाँमा पुगेको छ।

भारत सरकारले पेट्रोल पम्पहरुमा आन्तरिक आपूर्ति बढाउन पनि निर्यातमा प्रतिबन्ध लगाएको बताइएको छ। विगतमा मध्यप्रदेश, राजस्थान र गुजरातजस्ता राज्यका धेरै पेट्रोल पम्प निजी कम्पनीहरुले आपूर्ति बन्द गरेपछि बन्द भएका थिए। 

वास्तवमा पेट्रोल र डिजेलको मूल्य नबढेकाले निजी रिफाइनर्सहरुले स्थानीय रुपमा बिक्री गर्नुको सट्टा निर्यातलाई प्राथमिकता दिएका थिए। 

यसैबीच भारत सरकारले इन्धन निर्यातमा कर लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाल पनि पर्ने देखिएको छ। 

पछिल्लो समय भारतले मूल्य बढाउँदै पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। जसका कारण नेपाल पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ लगातार बढिरहेको थियो। 

लगातारको मूल्यवृद्धिको चर्को आलोचनापछि गत शनिबारमात्रै सरकारले हस्तक्षेप पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। 

सरकारले गत  शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको छ। नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले घटाएको हो। 

हाल प्रतिलिटर पेट्रोलको १७९ रुपैयाँ, डिजेलको १६३ रुपैयाँ र मट्टीतेलको १६३ रुपैयाँ कायम गरिएको छ। 

अब भारत निर्यात कर बढाएपछि पेट्रोलिम पदार्थको मूल्य बढेर आउने सम्भावना छ। सोही कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने सम्भावना रहेको जानकारहरु बताउँछन्।