काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ र अरिनको डेभलपमेन्ट बैंकलाई प्राप्ति(अक्वायर) गरी आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ । 

आइतबार काठमाण्डौमा आयोजित एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुुभारम्भ गरेका हुन् । 

दुुई विकास बैंकलाई प्राप्तिपछि सेञ्चुरी कमर्सियल बैंकको चुक्तापूँजी रु. ४ अर्ब ७१ करोड, निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु हुनेछन् । निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिशतको दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्सलाई समेत प्राप्ति कार्य गरी असार महिनाभित्रै एकीकृत कारोबार थाल्ने बताइएको छ । 

यसरी पाँचवटै संस्थालाई प्राप्ति र चालुु आर्थिक वर्षको मुनाफाबाट बैंकले ८ अर्ब चुक्तापुँजीको लक्ष्य हासिल गर्ने बताइएको छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुँच बढी करिब ९० शाखाहरु हुनेछन् ।