काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांशमा सामान्य संशोधन गरेको छ ।

गत भदौ ३० गते बसेको संस्थाको सञ्चालक समितिको बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी २० करोड ७४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड ७ सात ४० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस सेयर र नगद लाभांश कर प्रयोजनार्थ संस्थाले ०.७९ प्रतिशतले हुन आउने १६ लाख ३७ हजार ३६८.४२ रुपैयाँ छुट्याएको थियो । जसअनुसार सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको थियो ।

प्रस्तावित लाभांशमा राष्ट्र बैंकले सुधारका लागि निर्देशन दिएपछि संस्थाले यसअघि प्रस्तावित बोनस सेयरलाई यथावत राखी ५ प्रतिशत नगद लाभांशमा बोनस सेयर नगद लाभांशको करसमेत समावेश गरी संशोधन गरेको हो । योसँगै अब सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव संस्थाले गरेको छ ।

प्रस्तावित संशोधनसहितको लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृति भएपछि आगामी साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरिएको थियो ।