काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्यआम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर २१ कम्पनीलाई जोखिमयुक्त भनेको विषयलाई स्वतन्त्र उर्जा उत्पादक संस्थान नेपाल(इप्पान)ले लज्जास्पद र असक्षमताको संज्ञा दिएको छ । 

इप्पानले बिहीबार साँझ एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुको वित्तीय सूचक बैंक तथा वित्तीय संस्थाकै शैलीमा केलाउने गम्भीर गल्ती गरेर लगानीकर्तामा भ्रम छरेको भन्दै अर्थमन्त्रालयले बोर्डका अधिकारीहरुमाथि कारबाही गर्नुपर्ने सुझाव दिएको हो ।

इप्पानले असार १ गतेको विज्ञप्तिबाजीले बोर्डभित्रकै व्यक्तिहरुबाट बजारमा चलखेल भइरहेको त छैन भन्ने गम्भीर आशंका पैदा भएको उल्लेख गर्दै भनेको छ-'नेपालमा तुलनात्मक रुपमा राम्रो लाभ रहेको, खोलामा बगिरहेको पानी कच्चपदार्थको रुपमा उपयोग हुने, व्यापार घाटा सन्तुलनको लागि भूुमिका खेलिरहेको, निर्यातयोग्य, लाखौ रोजगारी श्रृजना गर्ने, ग्रामीण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने जलविद्युत कम्पनीको लगानीमा जनताको विश्वास पैदा गरेर जलविद्युत् विकासमार्फत आर्थिक संमृद्धि र रोजगारी श्रृजना गर्ने वातावरण तयार गनुपर्नेमा जलविद्युत् कम्पनीको लगानीमा जोखिम भन्दै विज्ञप्ति निकालेर धितोपत्र बोर्डले कस्को पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न जरुरी छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्नुपर्दछ।'

धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएका छन् भने पछिल्लो समयमा धितोपत्र बजारमा सुचिकृत हुन चाहने कम्पनीको संख्या बढ्दै गएको छ । तर, धितोपत्र बोर्ड आफैले शेयर निश्कासनको अनुमति दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्यआम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई धितोपत्र बोर्डले जोखिमयुक्त लगानी भनेकोमा इप्पानले दुःख व्यक्त गरेको छ । 

'जलविद्युत कम्पनीहरु सामान्यतया संचालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने गरेको सर्वविदितै छ । जलविद्युत् कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८० प्रतिशत ऋण लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरेका छन् ।' विज्ञप्तिमा भनिएको छ-'अहिले प्राथमिक शेयर निष्काशन गरेर दोश्रो बजारमा कारोबार भैरहेका धेरै जलविद्युत् कम्पनीहरुको भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्नभई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गइरहेका र अझैसम्म निर्माणाधीन रहेका छन् । वर्तमान अवस्थामा इप्पान कार्यसमितिको अथक प्रयासका कारण नेपाल विद्युत प्राधिकरणले १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई लगाउँदै आएको एडी पेनाल्टी हटाउन सफल हुनु, ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले १४ प्रतिशतसम्म ब्याज लिंदै आएकोमा सो व्याजदर ७ प्रतिशतमा झार्न सफल हुनु, रुग्ण जलविद्युत आयोजनाहरुलाई सवल रुपमा संचालनका लागि नेपाल राष्ट्र बैंकमार्फत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत आयोजनाहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा भ्याट छुटको व्यवस्था हुनुजस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत कम्पनीहरुको प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ कम हुनु स्वभाविक भएता पनि शेयरमूल्यमा सकारात्मक प्रभाव परेको प्रष्ट पार्न चाहन्छौं ।' 

किनकि जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरु भएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिशेयर मूल्यआम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने पनि इप्पानले प्रष्ट पारेको छ । 

'तर, धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैक तथा वित्तीय संस्था वा अन्य व्यापारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्यांकन अन्यायपूर्ण छ । धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र हो ।' विज्ञप्तिमा भनिएको छ-'स्वतन्त्र बाजरमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भए पनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तिहरुको बोली र व्यवहारले समेत असर गर्दछ । त्यसैले दोश्रो बजारमा हुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिदबिक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय देखिएन ।'

इप्पानले यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानबिन गरेर गलत गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्नुपर्नेमा त्यसो नभएकोमा आश्चर्य प्रकट गरेको छ । 'यदि जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार छ । इप्पानको वर्तमान नेतृत्व जलविद्युत क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको छ ।' विज्ञप्तिमा अगाडि भनिएको छ-'तर यहाँ धितोपत्र बोर्ड आफैले कम्पनीको शेयर मूल्यमा चलखेल भएको भनेर कम्पनीको नाम निकालेर मिडियावजी गर्नु आफैमा लज्जास्पद छ । यसले धितोपत्र बोर्डले प्रदर्शन गरेको यस्तो अपरिपक्क व्यवहारले नीतिगत रुपमा नियन्त्रणको लागि स्थापना भएको धितोपत्र बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन, कतै बोर्ड भित्रकै व्यक्तिहरुबाट बजारमा चलखेल भइरहेको त छैन भन्ने गम्भीर आशंका पैदा भएको छ ।'