काठमाण्डौ । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिँदैछ।

एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो। होटल हिमालय कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ।

डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको एउटा अभियान हो। फेब्रुअरी महिनाको तेस्र्रो हप्ताको बिहिबारको दिन विश्वका सर्यौ देशहरुमा डिजिटल लर्निङ डे मनाउने गरिन्छ। यस वर्ष नेपालमा शिक्षामा परिवर्तनको स्लोगन सहित काम गरिरहेको एडचेन्ज नेपालले आयोजना गरिरहेको कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइँटेलले मुख्य वत्ताको रुपमा प्रस्तुति दिनेछन्। 

यसैगरी नेपाल खुल्ला विश्वविद्यालयका सह प्राध्यापक डा.भोजराज घिमिरे र काडिंगल भारतमा सह सस्थापक सत्यम वर्नवालको कार्यपत्र प्रस्तुति रहेको छ। 

प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, युनेस्को, प्याब्सन र अन्य सस्थाहरुबाट विशिष्ट व्यत्तिहरुबिच अन्तकृया सञ्चालन हुनेछ। आइडिया पिचिङको रुपमा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ आइडियाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

यो कार्यक्रमले डिजिटल शिक्षाको लागि नयाँ अवधारणा बनाउनेसँगै आवश्यक नीति र योजनाहरुमा सघाँउ पुर्याउने आयोजकले विश्वास लिएको छ। 

नेपालमा विगत एक दशकदेखि नै डिजिटल लर्निङको क्षेत्रमा विभिन्न अभ्यासहरु भइरहेका छन। विशेषगरी कोभिड १९ पश्चात विद्यार्थीहरुको सिकाईको लागि सरकारले पनि अनलाइन शिक्षालाई प्रवर्द्धन गरेको छ। एक दर्जन बढी कम्पनीहरुले अनलाइन शिक्षा तथा डिजिटल कन्टेन्टको विकासमा काम गरिरहेका छन। तर, अझैपनि डिजिटल लर्निङलाई पुर्णरुपमा आत्मसात गर्न नसकिएको देखिन्छ। 

सरकारले विद्यालयस्तरमा शैक्षिक सामग्री र पुस्तक महिनौसम्म उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा, अब डिजिटल लर्निङलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ। यसको लागि आवश्यक पुर्वाधार विकास, डिजिटल कनेक्टिभिटीमा जोड दिनुपर्ने अवस्था छ। नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा पनि डिजिटल शिक्षालाई आठ कार्यक्षेत्रभित्र समावेश गरेको छ।