काठमाण्डौ । इरानमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका नागरिकको संख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४,४०५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो संख्या झन्डै ४२,००० भएको देखिएको छ। सङ्क्रमितको संख्या पनि मन्त्रालयले भनेको २७८,८२७ नभई ४५१,०२४ भएको देखिएको छ।

इरान कोरोनाभाइरसको प्रकोप चर्को भएको देश हो र हालैका साताहरूमा त्यहाँ संक्रमण उच्च देखिएको छ। बीबीसीलाई उपलब्ध गराइएको सरकारी स्वास्थ्य तथ्यांकका दस्तावेजमा त्यहाँ पहिलो मृत्यु ज्यानुअरी २२ मा भएको देखिन्छ जुन इरानले पहिलो संक्रमण भएको जनाएको मितिभन्दा एक महिना अगाडि हो। इरानको आधिकारिक तथ्यांकमा धेरैले शङ्का गरेका थिए।

राष्ट्रिय र प्रान्तीय तथ्यांकमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ संक्रमणको अवस्थाबारे फरक तथ्यांक दिने प्रयास गर्नेहरू पनि थिए। संसारभरि नै कम परीक्षणका कारण कोभिड-१९ को कम तथ्यांक उपलब्ध हुने मानिए पनि इरानले उपलब्ध भएकै तथ्यांकहरू पनि सार्वजनिक नगरेको देखिएको छ। 

ती तथ्यांक बीबीसीलाई बेनामे स्रोतबाट प्राप्त भएका हुन्। प्राप्त भएका विवरणमा इरानभरि अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिङ्ग, लक्षण, मिति र अस्पताल बसाइको जानकारीहरूको तथ्यांक छ।

बीबीसीले आफ्नो स्रोत सरकारी निकायमा काम गर्ने कोही हो वा स्रोतले कसरी दस्तावेज प्राप्त गर्यो भन्ने पुष्टि गर्न सकेको छैन। तर सो सूचीमा भएका तथ्यांकका अंशहरू बीबीसीलाई पहिले नै थाहा भएका मृत र जीवित बिरामीहरूको तथ्यांकहरूसँग मिल्छ।

इरानको राजधानी तेहरानमा सबैभन्दा बढी ८,१२० जना मानिसहरूको कोभिड-१९ को लक्षण सहित मृत्यु भैसकेको छ। इरानमा कोरोनाभाइरस संक्रमण सुरु भएको कोम शहरमा प्रति १,००० मा एक जनाको दरले मृत्यु भएको छ। त्यहाँ १,४१९ जनाले ज्यान गुमाएका छन्।

इरानभर मृत्यु भएका १,९१२ जना विदेशी रहेका छन्। तीमध्ये धेरै अफगानिस्तानबाट आएका शरणार्थीहरू रहेका छन्।

जानकार चिकित्सकहरूका अनुसार स्वास्थ्य मन्त्रालयलाई सुरक्षा तथा जासुसी निकायहरूको दबाव छ। एक चिकित्सकले भने, "सुरुमा परीक्षण किट थिएन, जतिबेला आयो त्यसपछि त्यसको प्रयोग गरिएन। सुरक्षा निकायले इरानमा कोरोनाभाइरस नभएको देखाउन चाहन्थ्यो।"

कोमका दुई चिकित्सक दाजुभाईको अडानका कारण मन्त्रालयले पहिलो संक्रमण भएको सार्वजनिक गरेको थियो। तर प्राप्त कागजातमा त्यति बेलासम्म त्यहाँ ५२ जनाको मृत्यु भइसकेको देखिन्छ।

डा. मोहम्मद मोलायी र डा. अलि मोलायीले आफ्नो अर्को भाईको मृत्यु भएपछि कोरोनाभाइरस परीक्षण गर्ने अडान लिए र त्यसको नतिजा पोजेटिभ आएको थियो। ती व्यक्तिको मृत्यु भएको कामकर अस्पतालमा अरू थुप्रै बिरामी उस्तै लक्षणहरूसहित भर्ना गरिएको तर उनीहरूको कहिल्यै परीक्षण नगरिएको देखिन्छ।

डा. मोलायीले सामाजिक सञ्जालमा भिडिओ हालेपछि मात्रै स्वास्थ्य मन्त्रालयले संक्रमण भएको पुष्टि गरेको थियो। इरानको स्वास्थ्य मन्त्रालयले आफूले विश्व स्वास्थ्य सङ्गठनलाई पठाउने संख्या पारदर्शी र सही हुने गरेको बताएको छ। – बीबीसी नेपाली सेवाबाट