काठमाण्डौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुआत भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सीधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्। 

सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिन्छ। 

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ। आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने भएको छ।

यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ। यस्तै म्यानपावरमार्फत वैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ। जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ। 

इसेवाबाट सीधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने भएको छ। यो सेवाको सुरुआतसँगै यसअघिको कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता पनि हटेको छ। 

यसरी गर्नुहोस् रकम भुक्तानी – 

१. इसेवा खातामा लग इन गर्नुहोस्।

२. सर्च बारमा “Foreign Employment Welfare Fund” लेखी देखाइएको आइकनमा थिच्नुहोस्।

३. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने “Man Power” छनोट गर्नुहोस्।

४. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै लट नम्बर दाखिला गरी “Check” मा थिच्नुहोस्।

५. देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुहोस्।

यसरी वैदेशिक रोजगार कल्याण कोषमा बुझाएको रकमको टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्नुहोस्।