काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ।

आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको छ। 

आईएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले सूचना प्रणालीसम्बन्धी ग्लोबल बेन्चमार्क आईएसओ २७००१  तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु संस्था, संस्थाका ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्थाहरू, सेवा प्रदायक संस्थालगायत सम्पूर्ण सरोकारवालाका लागि खुसीको कुरा भएको बताए। ‘हामीले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ। हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउँदै आएका छाँै’, उनले भने, ‘यो आईएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरीय छ भन्ने कुराको थप पुष्टि भएको छ।’

आईएसओ २७००१ः२०१३ (हालको संस्करण)  संसारमा सबैभन्दा विश्वसनीय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाँच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ। कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाँच्ने मूख्य आधार नै आईएसओलाई चिनिन्छ। यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुका बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ। 

आईएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरीय रहेको थप पुष्टि भएको छ। नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी रहेको छ। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यास लेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ। हाल इसेवाका देशभर एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ।