काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ। 

यस योजनामा ५०० भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन्। यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ। 

छात्रवृति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ। विद्यार्थीले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्डबुद्ध सेकेन्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन्। इसेवामार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन्। 

छात्रवृतिका लागि विद्यार्थीले इसेवा मोबाइल एप तथा वेभमार्फत इसेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन्। छात्रवृतिका लागि विद्यार्थीले रु. ३० भुक्तानी गर्नुपर्नेछ। 

यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ। छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेस गर्नुपर्नेछ। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ। 

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।