काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागी फिनलिट नेपालसँग सहकार्य गरेको छ । 

वित्तीय साक्षरतासम्बन्धी सम्झौतापत्रमा इसेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ताक्षर भयो । 

इसेवाले सामाजिक उत्तरदायित्व अन्तरगत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा योगदान पुर्याउने उदेश्यले यो कार्यक्रम अगाडी बढाएको हो । यस कार्यक्रम अन्तरगत फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा लगायतका वित्तीय साक्षरता सम्बन्धी मुलुकका विभिन्न स्थानमा कक्षा सञ्चालन गर्नेछ । 

फिनलिट नेपालले नेपालमा विभिन्न संस्थाहरूको सहकार्यमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।