काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडले यही असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री गर्नेछ। जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको छ। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउने छन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा कात्तिक १४ गतेसम्म बिक्री खुलाइनेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।