काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आज आइतबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।

दसैँबिदापछि गत बिहीबारबाट कारोबार खुले पनि सुनको भाउ दुई दिन लगातार घटेको थियो। गत बिहीबार तोलामै १ हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार २०० रुपैयाँले ओरालो लागेको थियो। 

गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा झरेको थियो।

उता चाँदीको भाउ पनि आज बढेको छ। आज तोलामै १५ रुपैयाँ बढेर चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ स्थिर रहेको थियो भने बिहीबार तोलामा ५० रुपैयाँले घट्दै १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।