काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार उच्च ज्वरो आई गम्भीर भएका तीन बिरामीको काठमाण्डौका २ अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् । 

डा. देवकोटाले उच्च ज्वरोले थलिएका एकजनाको पाटन अस्पताल र २ जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका हुन् । 

'पाटनमा मृत्यु भएका व्यक्ति ब्लडप्रेसर, डायबिटिजका बिरामी थिए र उनमा ज्वरो पनि आएको थियो भन्ने कुरा आएको छ ।' उनले नियमित पत्रकार सम्मेलनमा भने-'कालीमाटीमा बस्ने एक भारतीय नागरिक र अर्का एक व्यक्ति गरी २ को भने वीर अस्पतालमा मृत्यु भएको छ। सबैमा उच्च ज्वरो आएको थियो ।' 

पाटनमा मृत्यु भएका व्यक्तिको किड्नी फेलियर समेत भएको उनले जानकारी दिए । 

कोरोना संक्रमण भएको व्यक्तिमा उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने र संक्रमण बढ्दै जाँदा फोक्सोमा गम्भीर असर पर्ने लक्षणहरु देखिन्छन् । कतिपयको किड्नी फेलियर समेत हुने गर्छ । 

मृतक तीनैजनामा कोरोनाका केही लक्षण मिले पनि उनीहरुको स्वाब परीक्षणका लागि टेकूस्थित केन्द्रीय प्रयोगशाला पठाइएको र रिपोर्ट नआई कोरोनाकै कारण मृत्यु भएको भन्न नमिल्ने डा. देवकोटाको प्रष्टोक्ति छ । 

उनले बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ आएको समेत खुलाए ।