काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार भारतमा पहिलोपटक १०० अक्टेन पेट्रोल लन्च गरेको छ। योसँगै भारत यस्तो गुणस्तरीय पेट्रोल उत्पादन गर्ने केही देशमध्ये एउटा बन्न सफल भएको छ। 

यो पेट्रोलको उद्घाटन पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले गरेका थिए। उनले यो प्रिमियम पेट्रोल सुरुमा भारतका १० सहरमा रहेका आईओसीका आउटलेटहरुमा मात्र उपलब्ध हुने जानकारी दिए।

मन्त्री प्रधानका अनुसार सुरुमा दिल्ली, गुडगाउँ, नोएडा, आगरा, जयपुर, चण्डीगढ, लुधियाना, मुम्बई, पुणे र अहमदाबादमा यो पेट्रोल उपलब्ध हुनेछन्। 

दोस्रो चरणमा यो पेट्रोल चेन्नाई, बेंगलुरु, हैदराबाद, कोच्ची र कोलकातामा उपलब्ध हुने बताइएको छ। 

यो पेट्रोल उत्तर प्रदेशमा रहेको आईओसीको मथुरा रिफाइनरीमा उत्पादन गरिन्छ र त्यहाँ चयन गरिएका पेट्रोल पम्पमा पठाइन्छ। त्यहाँ यो पेट्रोल उत्पादन गर्न भारु ३० हजार करोड लगानी गरिएको छ।  

विश्वभर यो अक्टेन पेट्रोल हाई परफर्मेन्स भएको लक्जरी गाडीमा प्रयोग हुन्छ। यसअघि यो पेट्रोल अन्य ६ देशमा मात्र उपलब्ध हुन्थ्यो। जसमा अमेरिका, जर्मनी, ग्रिस, इन्डोनेसिया, मलेसिया र इजरायल छन्। यी देशका अधिकांश रिटेल स्टेसनमा तीन अक्टेन ग्रेडका पेट्राल उपलब्ध छ। जसमा ८७ (रेगुलर), ८९ (मिड ग्रेड) र ९१–९४ (प्रिमियम) छन्।