काठमाण्डौ । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका कारण सुनको भाउ उच्च दरले बढ्न थालेको छ । यी दुुई देशबीचको तनावले अन्तराष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएको र यसको प्रभाव व्यापारका विविध क्षेत्रमा समेत परेपछि सेयर, डलर लगायतमा लगानी गर्नेहरु सुनतर्फ आकर्षित हुँदा माग बढी मूल्य उच्च दरले बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

‘अन्तराष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण जब जब बिग्रन्छ, त्यसको प्रभाव सुनको मूल्यमा पर्दै आएको छ ।’ शाक्यले भने–‘यसपटक पनि उत्तर कोरिया र अमेरिकाबीचको तनावले सुनको मूल्य बढेको देखिन्छ । सुरक्षित लगानीको क्षेत्र सुन ठानेर लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका छन्।’

उनका अनुसार अन्तराष्टिय बजारमा बुधबारसम्म प्रति औंस १२५० डलरमा कारोबार भइरहेको सुनको भाउ बढेर बिहीबार प्रति औंस १२७७ डलर पुगिसकेको छ । यो भाउ बढेर १३ सय डलर प्रतिऔंससम्म पुुग्नसक्ने प्रक्षेपण अन्तराष्टिय क्षेत्रका विज्ञहरुले गरिरहेका छन् । 

सुनचाँदीको भाउ साउनकै उच्च
अन्तराष्टिय क्षेत्रको प्रभावले नेपाली बजारमा समेत सुनचाँदीको भाउ बढेको छ । यी दुवै धातुुको भाउ बिहीबार साउन महिनाकै उच्च विन्दूमा पुुगेको हो । अन्तराष्टिय क्षेत्रको प्रभावसँगै नेपाली हिन्दू महिलाहरुको महान पर्व तिज समेत आउन लागेकोले यसले समेत सुनचाँदीको भाउमा केही वृद्धि गर्नसक्ने शाक्यको विश्लेषण छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ५४ हजार ९ सय तोकेको छ । यो मूल्य बुधबारको भन्दा ५ सयले बढी हो । बुधबार फाइन गोल्डको मूल्य प्रति तोला ५४ हजार ४ सय थियो ।

बिहीबार कायम फाइन गोल्डको प्रति तोला ५४ हजार ९ सय मूल्य साउन महिनाकै महंगो हो । 

यसअघि साउन १५ र १७ गते फाइन गोल्डको मूल्य प्रतितोला ५४ हजार ८ सय पुुगेको थियो । 
साउनका बाँकी अन्य दिनमा सुनको मूल्यमा उतारचढाव भइरहेको थियो । साउन १ गते सुनको मूल्य प्रतितोला ५३ हजार ५ सय मात्र थियो । 

साउन २३ गतेसम्म प्रति तोला ५४ हजार रहेको मूल्य त्यसपछि दिनहुँ बढिरहेको हो । 

सुनको मूल्यसँगै चाँदीको मूल्यमा समेत बढोत्तरी भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले वृद्धि भयो । बुधबार प्रतितोला ७ सय ३५ रुपैयाँ रहेको चाँदी बिहीबार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो । साउन २२, २३ र २४ गते चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सुनजस्तै चाँदीको मूल्य पनि साउनकै उच्च हो । यसअघि साउन ८, ९, १८ र १६ गते चाँदीको मूल्य प्रतितोला ७ सय ४० कायम भएको थियो । साउनमा हालसम्म चाँदीको मूल्य ७ सय ५० पुुगेको थिएन ।