काठमाण्डौ । उद्योगी व्यवसायीले बिहीबार नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेटी हाल उच्च दरमा रहेको बैकिङ ब्याज घटाउने ५ वटा उपयासहितको सुझावपत्र पेश गरेका छन् ।

उनीहरुले बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशतसम्म प्रिमियम थप गरी ब्याज लिन पाउने व्यवस्था गरिनुपर्ने र  कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था हुनुपर्ने लगायतका ५ वटा उपायमार्फत हाल उच्च दरमा रहेको बैंकको ब्याज कम हुनसक्ने सुझाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले गभर्नर डा. नेपाललाई बिहीबार बालुवाटारमा भेटेर अनिवार्य नगद अनुपात(सीआरआर) मा बैंकहरुलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकहरूको कस्ट अफ फण्ड घटेर बेस रेट घट्नसक्ने भएकोले यसतर्फ कदम चाल्न आग्रह गरेका हुन् ।

महासंघले पुनरकर्जा कोषमा छ/छ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने र पूनरकर्जाका प्रक्रिया सरल गरिनुको साथै पूनरकर्जा कोषलाई बृद्धि गरी रू. १०० अर्ब बनाउनुपर्ने सुझाव समेत दिएको छ । 

यसैगरी, नाफामूलक सँस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुने गरी ब्याजदर कायम गरिनु पर्ने, बैंकिङ्ग सेवालाई सरल र सहज बनाउनका लागि रू. १० लाख भन्दा कमको बचतमा केवाइसी फर्मलाई उदार गरिनुपर्ने माग पनि राखिएको छ।

महासंघको तर्फबाट प्रस्तुत सुझावपत्र ग्रहण गर्दै गभर्नर नेपालले महासंघले विभिन्न समयमा दिएका सुझावहरु अत्यन्त महत्वपूर्ण रहेको र हालको समस्याको समाधानका लागि परिणाम निस्कन समय लागेता पनि नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको बताए ।

साथै भेटवार्ताका क्रममा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । 

छलफलमा  डेपुटि गभर्नर शिवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघको बैकिङ समितिका सभापति शौरभ ज्योति, कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह बैध, गोपाल खनाल, चन्द्रकान्त अधिकारी, रविनकुमार श्रेष्ठ र सुनिलनारायण श्रेष्ठ लगायत सहभागी थिए ।