काठमाण्डौ । ‘तपाईहरुले कत्तिको विचार गर्नुभयो कुन्नि, आज यहाँ केही नयाँ हुँदैछ । नेपाल उद्योग परिसंघ(सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नेतृत्व एउटै मञ्चमा देखिएको छ । यो अभूतपूर्व छ ।’ कुनै बेला एफएनसीसीआईबाट असन्तुुष्ट बनी  सिएनआई स्थापना गरेका सो संस्थाका संस्थापक अध्यक्ष तथा फोब्र्सका अर्बपति सूचिमा पर्न सफल एक मात्र नेपाली उद्योगपति विनोद चौधरीले यसो भनिनसक्दै कार्यक्रममा तालिको पर्रा छुट्यो । निजी क्षेत्रको दुुई अग्रणी संस्थाबीचको अभूतपूर्व सहकार्य तथा लामो समयदेखिको पानी बाराबारको अवस्थामा भएको ''ब्रेकथ्रुु''को सबैले तालिले स्वागत गरेका थिए । 

नेपाल उद्योग परिसंघले आफ्नो १४ औं वार्षिक साधारणसभा मनाउने क्रममा शुक्रबार अपरान्ह सोल्टी होटलमा एक भव्य समारोहका आयोजना गरेको थियो । देशका ठूला ३ दलका प्रमुखहरुलाई राखेर विकास र समृद्धिको प्रतिबद्धता खोज्ने कार्यक्रममा निजी क्षेत्रका दुुई अग्रणी संस्थाका अध्यक्ष पुरानो तिक्तता बिर्सिएर एउटै मञ्चमा देखिएका थिए । सिएनआईले दिएको निम्तालाई सहर्ष स्वीकार गर्दै एफएनसिसिआईकी अध्यक्ष भवानी राणा कार्यक्रममा पुुगेकी थिइन् । यी दुुई संगठनको अभूतपूर्व सद्भाव तथा लामो समयदेखिको तिक्तता अन्तका लागि भएको ब्रेक थ्रुलाई धेरैले चासोका साथ हेरेका थिए । 

सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सीएनआई र एफएनसिसिआईका अध्यक्षलाई एउटै मञ्चमा देखेपछि रेकर्ड कायम भएको भन्दै खुशी व्यक्त गरेका थिए । 'तपाईहरुले आज यो कार्यक्रम गरी २ वटा नयाँ रेकर्ड बनाउनुुभयो ।' प्रचण्डले भनेका थिए-'एफएनसिसीआईलाई सँगै राखेर एउटै भाषा बोल्न लगाउनुुभयो, अर्को तीनवटा प्रमुख दलका प्रमुखहरुलाई साधारणसभामा बोलाएर प्रतिबद्धता माग्नुुभयो, कुनै पनि संस्थाको साधारणसभामा देशका ३ ठूला राजनीतिक दलका प्रमुखहरु यसरी एकसाथ कहिल्यै उपस्थित भएका थिएनन्, यो पनि नयाँ रेकर्ड भयो ।' 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालका अनुसार परिसंघ र उद्योग वाणिज्य महासंघका अध्यक्ष एकअर्काले आयोजना गरेको कार्यक्रमको मञ्चमा आजसम्म कहिल्यै बसेका थिएनन् । 'यो नयाँ रेकर्ड नै कायम भयो ।' उनले थपे-'निजी क्षेत्र मिलेर जानुपर्छ भन्ने सन्देश पनि हो यो ।' 

कसले गरायो मिलन ?
नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघबीचको लामो समयदेखिको तिक्तता मेटाउने कामको सुरुवात तथा पहल परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले गरेका हुन् । महासंघको गत चैतमा भएको कार्यक्रममा सहभागिता जनाई यो क्रमको सुरुवात गरेका थिए । उनी त्यसअघि २० वर्षसम्म महासंघको कुनै पनि कार्यक्रममा उपस्थित हुँदैन थिए । महासंघले आफ्ना समेत पूर्वअध्यक्ष तथा फोब्र्स अर्बपति सूचिका एक मात्र नेपाली भनी उनलाई सम्मान गरेको थियो, उनले पनि त्यसलाई सहर्ष स्वीकार गरी लामो समयदेखिको पानी बाराबारको अवस्था अन्तको सुरुवात गरेका थिए । त्यसैको निरन्तरताको रुपमा शुक्रबारको घटनाक्रमलाई लिन सकिने परिसंघका एक अधिकारीले दाबी गरे । 

कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणालाई आमन्त्रण मात्र गरिएन, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुसँगै मञ्चमा राखेर राम्रो सम्मान पनि दिइयो । उनलाई महासंघको धारणा राख्न समेत दिइएको थियो । आफ्नो धारणा राख्ने क्रममा महासंघ अध्यक्ष राणा र परिसंघ अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्धि र विकासमा उस्तै अभिव्यक्ति दिएका थिए । कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै परिसंघ अध्यक्ष शर्माको अभिव्यक्तिमा महासंघ अध्यक्ष राणाले समेत समर्थन गरेकै कारण प्रचण्डले आफ्नो सम्बोधनमा महासंघलाई पनि एउटै कुरा बोल्न लगाउनुुभयो भनी अथ्र्याएका थिए ।