काठमाण्डौ । नेपाल उद्योग परिसंघले समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे परिसंघ–प्रवुद्ध परिषदसँगको पटक पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट समृद्धिको मार्गचित्रको अवधारणा तयार गरी नेपाल सरकारलाई पेश गरेको छ ।

बिहीबार सम्पन्न बेग्ला बेग्लै कार्यक्रममा परिसंघ तथा प्रबुद्ध परिषदका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई सो अवधारणा प्रस्तुत गरेका हुन् ।

सो समृद्धिको मार्गचित्रको अवधारणा सरकारलाई अब बनाउने नीतिनियम तथा रणनीति तय गर्न उपयोगी हुने अपेक्षा परिसंघले लिएको छ ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्गचित्र अध्ययन गरी आर्थिक विकास तथा उद्योगधन्दाको प्रवद्र्धनका लागि आवश्यक नीति र कानून तय गर्ने बताए । उनले औद्योगिक पूर्वाधार विकासका साथै उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि लगानीको वातावरण तथा औद्योगिक सुुरक्षा सम्बन्धको आवश्यकता रहेकामा जोड दिए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न यस सरकारले औद्योगिकीकरण तथा पूर्वाधारलाई प्राथमिकता दिने बताएका थिए । 

अर्को कार्यक्रमा अर्थमन्त्री खतिवडाले नेपालको निजी क्षेत्रले यसप्रकारको अवधारणा तयार गर्नु सह्रानीय भएको बताउँदै हालको सरकारको ध्यान समेत समृद्धि नै रहेको बताएका थिए । आगामी दिनहरुमा नेपालमा लगानीको बातावरण बन्दै जाने भएकोले उद्योगी तथा व्यवसायीहरुलाई लगानीका लागि तयार रहन सुझाएका थिए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्य भई मुलुकले राजनीतिक स्थायीत्व पाएको बताए । तीनबटै तहमा सरकार समेत गठन भइसकेको नयाँ अवसरमा मुलुकलाई दीगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताउँदै उक्त समृद्धिको मार्गचित्रले सरकारलाई आफ्नो लक्ष्य हासिल गर्न सजिलो हुने विश्वास व्यक्त गरेका थिए ।