काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। 

बैठकमा काठमाण्डौका सीडीओ कालीप्रसाद पराजुली, ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराई सहभागी हुने छन्। बैठकमा जारी निषेधाज्ञाको समायावधि थप्ने वा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ। 

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (जेठ ३१ गते) सम्म रहेको छ। 

साबिकको मोडालिटीमा निषेधाज्ञा लगाउने वा मोडालिटी केही परिमार्जन गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने भक्तपुरका सीडीओ भट्टराईले बिजशालालाई जानकारी दिए। ‘अहिले नै यस विषयमा कुनै स्पष्ट धारणा आइसकेको छैन’, उनले भने।