काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधिमा थप एक साता लम्बाइने भएको छ। यो अवधिमा बैंक तथा बीमा कम्पनीहरुका शाखाहरु भने पूर्ण रुपमा खुल्न दिइने भएको छ। 

आज दिउँसो ३ बजे काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ। बैठकमा निषेधाज्ञाको अवधि थप गर्दै उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुका सबै शाखा खुल्न दिने विषयमा तीनै जिल्लाका सीडीओहरुबीच लगभग अनौपचारिक रुपमा सहमति भइसकेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। बैंक तथा बीमा कम्पनीहरुका शाखाहरु खोल्न दिइने भए पनि सीमित कर्मचारीहरुलाई सिफ्टअनुसार परिचालन गर्नुपर्ने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उनले बताए।  

यो अवधिमा किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने समय पनि बढाइने भएको छ। अब बिहान ११ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइने सीडीओ भट्टराईले जानकारी दिए। यसअघि बिहान ९ बजेसम्म किराना खुल्न दिइएको छ।

त्यस्तै हार्डवेयरलगायत निर्माण सामग्रीसम्बन्धी पसलहरु पनि निश्चित समय तोकेर खोल्न दिने तयारी भइरहेको छ। 

बैठकमा काठमाण्डौका सीडीओ कालीप्रसाद पराजुली, ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सीडीओ भट्टराई सहभागी हुने छन्। 

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (जेठ ३१ गते) सम्म रहेको छ।