काठमाण्डौ । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञासँगै बन्द भएको मर्निङ वाक र इभिनिङ वाक खुल्ने भएको छ । 

कोभिड–१९ को दोश्रो लहर सुरु भएसँगै संक्रमण विस्तार हुने डरले स्थानीय प्रशासनले काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा मर्निङ र इभिनिङ वाक गर्न समेत बन्देज गरेको थियो । 

आदेशको अवज्ञा गरेर मर्निङ र इभिनिङ वाक गर्नेलाई जेलसम्मको सजाय हुने चेतावनी दिइएका कारण सर्वसाधारण बिहान र बेलुका घरबाट बाहिर निस्किन पाएका थिएनन् । 

तर, आज तीन जिल्लाका सीडीओहरुबीच भएको सहमतिअनुसार मर्निङ र इभिनिङ वाकमा लगाइएको बन्देज खुल्ला गरिएको छ । 

‘नयाँ आदेशमा यो विषयमा केही पनि बोलिएको छैन । यसको अर्थ अब बिहान र बेलुका हिँड्न पाइने भन्ने नै हो ।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले बिजशालासँग भने–‘कोरोना संक्रमणबाट बच्नका लागि समेत शारिरीक तन्दुरुस्ती आवश्यक छ । यसका लागि समेत सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाक नरोक्ने भन्ने हामीबीच सहमति भएको हो ।’ 

मर्निङ र इभिनिङ वाक गर्न छुट दिइए पनि यस्तो गतिविधिमा सहभागी हुँदा स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । मापदण्ड पालना नगर्नेलाई कारबाही हुने सीडीओ भट्टराईले प्रष्ट पारेका छन् ।