काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भौतिक उपस्थिति पठनपाठन गर्न नपाइने भएको छ। 

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय हो। यद्यपि स्कुल खोल्नै परे सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग समन्वय गरी पठनपाठन सञ्चालनको निर्णय गर्न सक्ने पनि बैठकले निर्णय गरेको छ। 

कोरोना संक्रमणको जोखिम घटिनसकेकोले स्कुलका हकमा प्रजिअहरुले यस्तो निर्णय गरेका हुन्। 

बैठकले अनावश्यक रूपमा भीडभाड नगर्ने, सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने पनि आदेश दिएको छ। 

बैठकले सिनेमा हल भने भदौ १७ गते  बिहीबारबाट खुलाउने निर्णय गरेको छ। योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, ब्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन्।