काठमाण्डौ । नेप्से सूचकमा उछाल आएसँगै आज ४ नयाँ रेकर्ड कायम गरेको छ ।

साताको पहिलो दिन नेप्से सूचक ४८.९७ अंकको बढोत्तरीसँगै २५२४.२३ अंकमा पुगेको हो ।

सूचकमा दोहोरो अंकको उछाल आएसँगै आज दैनिक कारोबार रकमसमेत बढेर १० अर्ब ४४ करोड रुपैयाँ बढी पुगेको छ । यसअघि ९ अर्ब ८९ करोड रुपैयाँ कारोबारको रेकर्ड आज ब्रेक भएको हो ।

यसैबीच आज सर्वाधिक कारोबारसमेत भएको छ । यसअघि ८३ हजार ५६७ पटक सेयर कारोबार संख्याको रेकर्डलाई तोड्दै आज आइतबार ८७ हजार ६७० पटक सेयर कारोबार भएको हो ।

यसैगरी आज कुल बजार पूँजीकरणले समेत नयाँ रेकर्ड कायम गरेको छ । यसअघि ३३ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी रहेको बजार पूँजीकरण आज बढेर ३३ खर्ब ३४ अर्ब रुपैयाँको उचाईमा पुगेको हो ।