काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत  रकम हस्तान्तरण गरेको छ। 

बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए। 

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्मलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइनेछ। यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ। 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः हेमेन शाक्य, सरोज न्यौपानेलगायत कर्मचारीहरुकोे उपस्थिति थियो।